भारतीय फाइटरलाई हराउँदै रविन्द्र ढाँटले रचे इतिहास

आइतबार, साउन १८, २०८२

काठमाडौं :भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ मा नेपाली फाइटर रविन्द्र ढाँटले ऐतिहासिक जित हासिल गरेका छन्।

गएराती भएको बान्टमवेट वर्गको प्रतिस्पर्धामा उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै च्याम्पियन बनेका हुन्।

यस जितसँगै रविन्द्रले आफ्नो व्यावसायिक एमएमए रेकर्ड ८–१ मा सुधार गरेका छन्। साथसाथै, कोरेनको पाँच जितको लगातार शृङ्खला समेत तोडेका छन्।

रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली फाइटर पनि बनेका छन्। उनी सुदूरपश्चिमको बझाङ जिल्लाका निवासी हुन्।

ऐतिहासिक उपाधि जितेका नेपाली मिक्स्ड मार्सल आर्ट्स फाइटर रविन्द्र ढाँटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै लेखेका छन् —
“भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइटमा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।”

गएराति भारतको नोएडामा सम्पन्न उक्त फाइटमा रविन्द्रले तेस्रो राउन्डमा कोरेनलाई पराजित गर्दै उपाधि जितेका थिए।
यससँगै उनले आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा पुर्‍याएका छन्, र कोरेनको लगातार पाँच खेल जित्ने यात्रामा रोक लगाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि रविन्द्रलाई बधाई दिँदै लेखेका छन्
“नेताहरूले कमजोर बनाएको देशबाट बलियो बनेर निस्कनु गौरवको विषय हो।”

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्