diwpawali diwpawali

क्षितिज भण्डारीलाई जेजेस् व्लिज चेसको उपाधि

शनिबार, असार २८, २०८२

ललितपुर :महालक्ष्मी चेस एकेडेमीको आयोजनामा सम्पन्न दोस्रो जेजेस् क्याफे व्लिज खुला रेटिङ चेस प्रतियोगिताको उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन्।

स्विस लिग प्रणालीमा आधारित एकदिने द्रुतगतिको प्रतियोगितामा भण्डारीले ९ खेलमा आठ जित र एक बराबरीसहित ८.५ अंक प्राप्त गर्दै उपाधि हात पार्न सफल भए। अन्तिम चरणमा सानुराजा बज्राचार्यलाई हराउँदै उनले ट्रफीसहित ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

दोलखाका आशिष फुयालले पनि समान ८.५ अंक जोडेपनि प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थानमा रहँदै ६ हजार रुपैयाँ पुरस्कार पाए। उनले अन्तिम खेलमा सुरज महर्जनलाई पराजित गरेका थिए।

७.५ अंक जोडेका राजन पुरी तेस्रो स्थानमा रहँदै ४ हजार रुपैयाँ नगद जिते। उनले अन्तिम चरणमा प्रेमकृष्ण महर्जनमाथि विजय हासिल गरेका थिए।

ललितपुरका सरोज महर्जन चौथो र रौतहटका एफएम रुपेश जैशवाल पाँचौं स्थानमा रहे। झापाका प्रकाश नेपाल, पूर्व च्याम्पियन बद्रीलाल नेपाली, सजल न्यौपाने, सुनसरीका मुहान नर्सिङ श्रेष्ठ र सानुराजा बज्राचार्य क्रमशः छैटौंदेखि दशौं स्थानमा परे।

महिला वर्गमा महालक्ष्मी चेस एकेडेमीकी ग्लोसी श्रेष्ठ प्रथम भइन्। झापाकी पुनम प्रसाईं दोस्रो र कुसुम घिसिङ तेस्रो स्थानमा रहे।

  • १३२ जना सहभागी रहेको प्रतियोगितामा भेट्रान वर्गमा पूर्व च्याम्पियन नविन तण्डुकार उत्कृष्ट घोषित भए।
  • १८०० मुनि रेटेडमा कुमार महर्जन, १६०० मुनि वर्गमा सुदिन नेपाल,
  • १६ वर्षमुनि उमेर समूहमा प्रलेस महर्जन र १२ वर्षमुनि समूहमा सात्विक मान तुलाधर उत्कृष्ट घोषित भए।

ललितपुरको लुभुस्थित रोयल लुभु ब्याङ्क्वेटमा आयोजित पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जन, ललितपुर जिल्ला संघ अध्यक्ष विक्रम श्रेष्ठ, वडा सदस्य जयन्ती महर्जन, र विनोद केसीले विजयीहरूलाई सम्मानित गरे।
कार्यक्रमको सभापतित्व हरिकृष्ण महर्जनले गरेका थिए भने संचालन महासंघका प्रवक्ता राजु ताम्राकारले गरेका थिए।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्