Dosa Dosa

एनपिएलमा आफ्नाे नाम जाेडिएकाेमा खेलकुदमन्त्रीकाे आपत्ति

शुक्रबार, असार २७, २०८२

काठमाडौं :युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो नाम जोडेर आएका विषयहरूलाई लिएर आफू गम्भीर रहेको जनाउनुभएको छ ।

मन्त्री चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनपीएलको पहिलो संस्करणमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) को आन्तरिक आर्थिक कारोबारसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइसकेको र त्यसको छानबिन प्रक्रिया निर्धारित नियमअनुसार अघि बढिरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार उक्त उजुरीका विषयमा छानबिन गर्न गठित कार्यदलले मिति असार २५ गते नै प्रतिवेदन बुझाइसकेको छ । मन्त्री चौधरीले यस्तो अवस्थामा विषयलाई अनावश्यक रुपमा अतिरञ्जित गरेर प्रचार गर्नु दुःखद भएको बताउनुभएको छ । उहाँले छानबिन कार्यदलको प्रतिवेदन मन्त्रालयले अध्ययन गरेर आवश्यकताअनुसार थप प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

छानबिन कार्यदलकी संयोजक रञ्जना प्रधानले राजीनामा दिएको चर्चा भएपनि मन्त्री चौधरीले कार्यदलको म्याद सकिइसकेकोले औपचारिक रुपमा राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले एनपीएलको दोस्रो संस्करण आयोजक संस्थाबाटै निर्धारित प्रक्रिया अनुसार सञ्चालन हुने अपेक्षा रहेको स्पष्ट पार्दै आफूले त्यसलाई रोक्न कुनै भूमिका नखेल्ने दाबी गर्नुभएको छ । मन्त्री चौधरीले एनपीएललाई रोक्न आफू संलग्न भएको भन्ने हल्ला गलत भएको भन्दै त्यस्ता भ्रामक प्रचारले खेलाडी र समर्थकहरूको मनोबल कमजोर बनाउन नहुने उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीका अनुसार प्रधानमन्त्रीले समेत एनपीएल नरोकिने गरी अघि बढाउन निर्देशन दिइसक्नुभएको छ । ‘हामी कुनै हालतमा एनपीएल रोक्ने प्रक्रियामा छैनौं, सबै नियम पालना गरेर अघि बढ्छौं,’ चौधरीको भनाइ छ ।

यस्तै, छानबिन कार्यदलले राखेपको लेटरहेडमार्फत क्यानलाई छानबिन नसकिएसम्म कुनै पनि गतिविधि नगर्न पत्राचार गरेपछि पछिल्लो समय नेपाली क्रिकेटमा चर्चा चलेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहीबार हाई परफर्मेन्स सेन्टर उद्घाटनका क्रममा एनपीएललाई नेपालको गौरव भएको बताउँदै भव्य रुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो ।

मन्त्री चौधरीले त्यसको भोलिपल्ट आफ्नो धारणा सार्वजनिक गर्दै आगामी संस्करण सफल बनाउन सबैलाई सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्