सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन्। उनले अहिलेको विवादका बीच पनि नेपाल प्रिमियर लिग (एनपीएल) लाई अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको नेशनल हाई पर्फमेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स ल्याब को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने बताए।
उनले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै भने, “सरकारमा राजनीतिक प्रतिनिधि हुन सकिन्छ, तर खेल क्षेत्रमा राजनीति होइन, विकास नै हुनुपर्छ।”
हाल एनपीएलको व्यवस्थापनका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) बीच विवाद छ। राखेपले एनपीएलको हिसाबकिताब छानबिन गर्न कार्यदल बनाएपछि काम स्थगित गर्ने निर्देशन दिएको थियो। तर, प्रधानमन्त्री ओलीले यस्तो निर्देशनप्रति असहमति जनाउँदै क्यानलाई तयारी रोक्न नदिन भनेका हुन्।
“एनपीएल हाम्रो राष्ट्रिय गौरव हो। यसको तयारीलाई कुनै विवादले अवरुद्ध पार्न हुँदैन,” उनले भने। प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद पटक–पटक स्थगित हुनु लज्जास्पद भएको भन्दै आउँदो मंसिरभित्र सम्पन्न गर्न निर्देशन दिए।
सरकारले कीर्तिपुर रंगशालालाई बिस्तार गर्दै भक्तपुर र झापामा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने तयारी गरेको पनि उनले बताए। खेल क्षेत्रको बजेट बढाएर दुई गुणा पारिएको भन्दै ओलीले सरकार गम्भीर रूपमा खेलकुद प्रवर्द्धनमा लागेको दाबी गरे।
राखेपले निर्माण गरेको नयाँ खेल विज्ञान ल्याबमा एकैपटक सयभन्दा बढी खेलाडीले प्रशिक्षण पाउन सक्ने जनाइएको छ। प्रधानमन्त्रीले यो ल्याबबाट खेलाडीहरुको क्षमता अभिवृद्धिमा ठूलो टेवा पुग्ने आशा व्यक्त गरे।