सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सरकारले विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई विशेष सम्मानसहित नगद पुरस्कार प्रदान गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विजयी टोली र खेलाडीहरूलाई प्रमाणपत्रसहित पुरस्कार वितरण गरे।
जापानमा तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक जितेका विजय सिँजालीलाई प्रधानमन्त्री ओलीले ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरे। जापान उसु ताइजी महासङ्घको आयोजनामा कात्तिक ७ देखि १२ गतेसम्म सम्पन्न प्रतियोगितामा उनले नेपाललाई गौरवान्वित बनाएका थिए।
त्यस्तै, इरानमा गत फागुन २० देखि २५ गतेसम्म सम्पन्न छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जित्ने मनमति विष्टसहित सम्पूर्ण खेलाडीलाई प्रति व्यक्ति १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको हो।
श्रीलङ्कामा असोज २० देखि २६ सम्म भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक जित्ने नेपाली टोलीका सदस्यलाई तीन लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।
मलेसियामा असार ८ देखि २१ सम्म सम्पन्न एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा सिंगापुरलाई हराएर उपाधि जित्ने विपिनप्रसाद शर्मा नेतृत्वको नेपाली टोलीलाई पनि प्रधानमन्त्री ओलीले बधाईसहित स्वागत गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासमा गम्भीर रहेको भन्दै, "एकैचोटि सबैजना दक्ष र सफल बन्न सक्दैनन्, तर निरन्तर प्रयासबाट सफलता सम्भव छ," भन्दै आशावाद व्यक्त गरे।
खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी आर्थिक वर्षका लागि गत वर्षको तुलनामा करिब दोब्बर बजेट विनियोजन गरिएको जानकारी दिए। उनले कीर्तिपुर क्रिकेट मैदान निर्माण अन्तिम चरणमा रहेको बताउँदै खेल क्षेत्र अब थप उत्साहित हुने बताए।