सन्दीप लामिछानेसँग अमेरिका डरायो :अधिवक्ता नेपाल

सन्दीपले लिएको ६ विकेटको बदला लिन भिसा नदिएको आरोप 
शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ :अधिवक्ता स्वागत नेपालले क्रिकेटर सन्दीप लामिछानेसँग अमेरिका डराएको कारणले भिषा नदिएको टिप्पणी गरेका छन् । 
उनले गो ब्याक अमेरिका भन्दै सामाजिक सञ्जालमा टी–ट्वान्टी क्रिकेट शुरु हुनु अगाडी नै धाँधली गरेको आरोपसमेत लगाएका छन् । लामो स्ट्याटस लेख्दै अधिवक्ता नेपालले भनेका छन् “अमेरिकालाई नेपालले ३५ रनमा अलआउट गरेको, सन्दीप एक्लैले लिएको ६ विकेटको बदला लिन भिसा दिएन ।”
यसअघि सन् २०१९ मा पनि अमेरिकाले लामिछानेलाई भिषा दिन अस्वीकार गरेको थियो । नेपाली क्रिकेट समर्थकहरुको तीब्र दबाबपछि अमेरिकी दुताबास आफैँले बोलाएर लामिछानेलाई भिषा प्रदान गरेको थियो ।
यसपटक सन् २०२४ मा अमेरिका पहिलोपटक घरेलु मैदानमा टी–२० विश्वकप खेल्दैछ । नेपाल र अमेरिकाले विश्वकप अघि वार्मअप म्याच खेल्दैछन् । 
यसै सन्दर्भमा अधिवक्ता नेपालले लेखेका छन्, “क्रिकेटमा अमेरिकाभन्दा नेपाल बलियो छ । अमेरिकाले सन्दीपको भिसा रिजेक्ट गर्दा नेपाली समर्थकले चार वर्षअघि नेपाल र अमेरिकाले खेलेको क्रिकेट म्याच सम्झिएका छन् । उक्त खेलमा नेपालले अमेरिकालाई एकदिवसीय क्रिकेटको इतिहासमै सबैभन्दा कम स्कोरमा समेटेको थियो ।”


“ लिग २ श्रृंखलाअन्तर्गत सन् २०२० को फेबु्रअरी २ मा त्रिवि मैदानमा नेपाल र अमेरिका भिडेका थिए । टस हारेर पहिलो ब्याटिङमा उत्रिएको अमेरिका ३५ रनमा अलआउट भयो । ओपनर जेभियर मार्सलले २२ बलमा १६ रन बनाउनुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेका थिएनन् ।”, उनले अगाडी भनेका छन्, “अमेरिकालाई ऐतिहासिक हार चखाउन सन्दीप लामिछानेले प्रमुख भूमिका खेलेका थिए । उनले केवल ६ ओभरमा १६ रन खर्चेर अमेरिकाका ६ ब्याट्सम्यानलाई पेभिलियन फर्काए । यो सन्दीप स्वयमको व्यक्तिगत उत्कृष्ट प्रदर्शन थियो । स्पिनर सुसन भारीले ४ विकेट लिए । ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा नै भेट्टायो । नेपालको कप्तानी गरेका ओपनर ज्ञानेन्द्र मल्ल १ रनमा र सुभाष खकुरेल शून्यमा आउट भएपछि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै टीमलाई जिताएका थिए ।” सर्वाधिक कम स्कोरमा अलआउट भएको अमेरिकी विश्व रेकर्ड अहिले पनि कायम छ । 
सोही प्रसंग उल्लेख गर्दै अधिवक्ता नेपालले अमेरिकाले भिसा नदिएको उसको नीति मात्र होइन यो क्रिकेटमा अमेरिकालाई सन्दिपले यसपूर्व हार चखाएको बदला हो भनेका छन् ।
अमेरिका फेरि हार्ने भएको कारणले खेल शुरु हुनु पूर्व नै धाँधली गरेको आरोप लगाउँदै उनले गो ब्याक अमेरिका लेखेका छन् । 
क्रिकेटर लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएको विषयमा सर्वोच्चमा परीक्षण हुने भन्दै यस विषयमा दुतावासले बोल्ने नभएको तर्क अधिवक्ता नेपालको छ ।
उनले भनेका छन्, “उसको देशको भिसा उसले दिने नदिने उसको कुरा हो भन्ने आधार यसमा छैन किनकि उनी क्रिकेट खेल्न जान लागेका हुन्, अमेरिकाले आफू हार्ने डरले मात्र भिसा नदिएको हो, यो धाँधली हो । त्यसो गर्ने धाँधलीवाला अमेरिकी दूतावास नेपालबाट हटाउनुपर्छ । उनीहरुलाई पनि अनअराइभल भिजा अन्त्य गर्नुपर्छ ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्