SONAM WEAR SONAM WEAR

अभिषेक शर्माको किर्तिमानी ब्याटिङमा इंग्ल्याण्ड स्तब्ध

सोमबार, माघ २१, २०८१

काठमाडौँ :अभिषेक शर्माको विस्फोटक शतकीय ब्याटिङसँगै इंग्ल्याण्ड विरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज भारतले जितेको छ ।

आइतबार राति भएको पाँचौं तथा अन्तिम खेलमा घरेलु टोली भारतले इंग्ल्याण्डमाथि १५० रनको फराकिलो जित निकाल्दै श्रृङ्खला ४–१ ले आफ्नो पक्षमा पारेको हो । जितका लागि भारतले दिएको २४८ रनको विशाल लक्ष्य पछाएको पाहुनाटोली १०.३ ओभरमा ९७ रनमा अल आउट हुन पुग्यो । इङ्ल्यान्डका लागि पिल साल्टले अर्धशतकीय पारी खेल्दै ५५ रनको योगदान गरे पनि जित दिलाउन सकेनन् ।

त्यसअघि वानखेडे रङ्गशाला मुम्बईमा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

भारतका लागि अभिषेक शर्माले शतकीय पारी खेलेर १३५ रनको योगदान गरे । ५४ बलको सामना गरेका उनले १३ छक्का र ७ चौका हिर्काए ।

शिवम दुबेले ३० रनको योगदान गरेका थिए। तिलक वर्माले २४ सञ्जु स्यामसनले १६ तथा अक्षर पट्टेलले १५ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकको रन जोड्न सकेनन् ।

यहि खेलबाट अन्तर्राष्ट्रिय श्रृङ्खलामा एउटै खेलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको किर्तिमान अभिषेक शर्माले आफ्नो नाममा लेखाएका छन् ।

यसअघि टी–२०  अन्तर्राष्ट्रिय श्रृङ्खलामा सबैभन्दा धेरै छक्का हान्ने भारतीय खेलाडीहरुको सुचीको अग्रस्थानमा भारतीय टोलीका खेलाडी रोहित शर्मा थिए । उनले १० छक्का प्रहार गरेका थिए ।  

इंग्ल्याण्ड विरुद्धको खेलमा रोहित शर्माको किर्तिमान अभिषेक शर्माले भङ्ग गरेका हुन् । उनले त्यहि खेलमा सबैभन्दा धेरै १३ छक्का प्रहार गरेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्